उडान भर्नु छ भने पंख फिजाउ।
“जन्जिरले बाँधिएको छु म”
भन्छौ भने
जन्जिर काट्न सक्ने हिम्मत जुटाउ।

“जन्जिर निकै बलियो छ”
भन्छौ भने
तिम्रो उद्देश्य के?
तिम्रै तागतले फलाम गलाउ।

“म त निकै घाइते छु”
भन्छौ भने
दायाँ बायाँ हेर त!
घाइते घाइते मिलेर मलहम लगाउ।

“म त उडिरहेकै छु”
तिमीलाई त्यस्तो लाग्छ भने
जकडिएको उडानमै खुसी छौ भने
मेरो भन्नु केही छैन।
यति भन्छु कि
उडान भर्नेहरूको परिधि हुँदैन।

जन्जिर काट्न सक्ने हिम्मत जुटाउ।
तिम्रै तागतले फलाम गलाउ।
घाइते घाइते मिलेर मलहम लगाउ।
सोचाइको परिधि हुँदैन।
एकफेर आँखा चिम्लेर
एकदिन जम्मै घोत्लिएर
आफ्ना आगामी उडानको कल्पना गर त!
के देख्यौ?
एक सुन्दर संसार?

त्यसैले

उडान भर्नु छ भने पंख फिजाउ