आफूलाई सेल्फ डव्ट छ तर कुनै सहयात्रीले भन्नुभयो - “दिपेश सर तपाईँ त यस्तो … उस्तो”। मलाई लाग्यो - केही न केही लेख्नपर्छ यो बारेमा, र लेखें पनि।
ब्रह्माण्डको असीमतामा
एक औसत बौद्धिकता भएको
अर्काले दिएको खाने
अर्काले छोडेको खाने
कसैले देवत्वकरण गरिदिएको
रुपान्तरणको अभिलाषा बोकेर उडिरहेको
कुहिरोको काग
कुहिरोको काग चाहिँ मैले आफैंलाई भनें। यस्तो कागको यात्रा कस्तो होला? कतातिर जाला? केही वैचारिक मन्थन गरें मैले।
निश्चित समय पार गरिसकेपछि धेरैलाई या भनौ म जस्तालाई बाटो लामो हुँदैन बरु गोलो हुन्छ। अझ बीचमा रहेको बिन्दु अनन्त शून्यता हो भने बाटो घुम्दै-घुम्दै त्यो बीचको बिन्दुमा गएर लीन हुनु नै हो। तर अनन्ततामा मैले बाँचेको समय सुन्दर होस् त्यस्तै मनोकांक्षा रहने रहेछ। निरपेक्ष समय या भनौ ब्रह्माण्डको अनन्तताका अगाडि तुच्छ समय मेरा लागि सब थोक हो। यो समय गुजार्न केही इतिहासका, केही वर्तमानका र केही आगामी दिनका सौन्दर्य चेतमा रमाउने पनि गर्दछु।
यदि आगामी दिनका त्यस्ता चेतलाई सपना भनिन्छ भने म सपना देख्दछु।